फिफाको निलम्बनपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुइलेर्मो एरेना पदमुक्त
विश्व फुटबलको सर्वोच्च निकाय फिफा (FIFA) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुइलेर्मो एरेना पदमुक्त भएका छन्। एन्फाका प्रवक्ता सुरेश शाह का अनुसार फिफाद्वारा एन्फामाथि लगाइएको निलम्बनका कारण प्रशिक्षक एरेनासँग भएको सम्झौता तत्कालका लागि निष्क्रिय बनाइएको हो। यससँगै उनी नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्त भएका छन्। स्पेनका प्रशिक्षक एरेनालाई एन्फाले गत फागुन २८ गते नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनले टोलीको दीर्घकालीन तयारी, खेलाडी छनोट र अन्तर्राष्ट्रिय प्रतियोगिताको योजनामा काम सुरु गरिसकेका थिए। तर फिफाको निर्णयसँगै उनको कार्यकाल छोटोमै टुंगिएको छ।
फिफाले एन्फालाई निलम्बन गरेपछि नेपालको अन्तर्राष्ट्रिय फुटबल गतिविधि प्रभावित हुने देखिएको छ। निलम्बन अवधिभर एन्फाले फिफा तथा एसियाली फुटबल महासंघ (AFC) अन्तर्गतका आधिकारिक गतिविधिमा सहभागिता जनाउन नपाउने अवस्था सिर्जना भएको छ।अब एन्फाको निलम्बन फुकुवा भएपछि मात्रै प्रशिक्षक नियुक्ति, राष्ट्रिय टोलीको तयारी तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालगायतका प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ।




