अर्घाखाँचीमा बाख्रामा पीपीआरको संक्रमण, भूमिकास्थानका चार क्षेत्र सिल
अर्घाखाँची — अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पीपीआर (Peste des Petits Ruminants) पुष्टि भएपछि प्रशासनले रोग प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिएको छ। रोग महामारीका रूपमा फैलिन सक्ने जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालयले भूमिकास्थान नगरपालिकाका विभिन्न क्षेत्रबाट बाख्रा ओसारपसारमा तत्काल रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार पीपीआर पुष्टि भएका भूमिकास्थान नगरपालिका–४ का विष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई रोग प्रभावित क्षेत्रका रूपमा पहिचान गरी सिल गरिएको छ। प्रशासनले अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र लैजान तथा अन्य क्षेत्रबाट बाख्रा भित्र्याउन नदिन कडाइ गरेको छ। आदेशको उल्लङ्घन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहको समन्वयमा तत्काल रोक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार हालसम्म पीपीआरका कारण दुई बाख्रा मरेका छन् भने करिब १९ वटा बाख्रामा संक्रमण देखिएको छ। संक्रमणको संख्या बढ्दै गएमा रोग अन्य बाख्रामा समेत तीव्र रूपमा फैलिन सक्ने भएकाले प्रशासनले समयमै नियन्त्रणका उपाय अघि बढाएको हो। पीपीआर विशेषगरी बाख्रालगायत साना खुर भएका पशुमा फैलिन सक्ने अत्यन्त सङ्क्रामक रोग भएकाले संक्रमित पशुबाट स्वस्थ पशुमा संक्रमण सर्न नदिन ओसारपसार नियन्त्रण र संक्रमित पशुलाई अलग राख्ने कार्यलाई प्राथमिकता दिइएको छ।रोग प्रभावित क्षेत्रमा रहेका सङ्क्रमित बाख्रालाई स्वस्थ बाख्राबाट अलग्गै राखेर उपचार तथा आवश्यक व्यवस्थापन गर्ने तयारी भइरहेको छ। संक्रमण थप फैलिन नदिन पशुपालकलाई प्रशासन तथा सम्बन्धित पशु स्वास्थ्य निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।विशेषगरी बाख्रा खरिद–बिक्री, एक स्थानबाट अर्को स्थानमा लैजाने तथा संक्रमित क्षेत्रबाट अन्यत्र सार्ने गतिविधिले रोग फैलिने जोखिम बढाउन सक्ने भएकाले प्रशासनले अहिले ओसारपसार नियन्त्रणलाई मुख्य उपाय बनाएको छ।
पीपीआर पुष्टि भएको क्षेत्रबाट बाख्रा बाहिर लैजाँदा रोग अन्य गाउँ तथा जिल्लासम्म फैलिन सक्ने जोखिम रहन्छ। त्यसैले प्रभावित क्षेत्रका पशुपालकले संक्रमित वा बिरामी बाख्रा लुकाएर अन्यत्र लैजानुको सट्टा सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने प्रशासनको आग्रह छ। भूमिकास्थानका प्रभावित क्षेत्रमा तत्काल ओसारपसार रोकिए पनि रोगको अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको निष्कर्ष निकाल्न भने अझै समय लाग्ने देखिन्छ। संक्रमणको अवस्था, नयाँ बिरामी पशुको संख्या तथा उपचार र व्यवस्थापनको प्रभावकारिताका आधारमा आगामी दिनमा प्रशासनले थप निर्णय गर्नेछ। प्रशासनले पीपीआर नियन्त्रणका लागि प्रभावित क्षेत्रका पशुपालक, स्थानीय तह, प्रहरी तथा पशु स्वास्थ्यसम्बन्धी निकायबीच समन्वय आवश्यक रहेको जनाएको छ।




