पोखरामा खाना पकाउने ग्यास अभाव हटाउन प्रशासन सक्रिय, तीन बुलेट ग्यास आजभोलि आइपुग्ने
business

पोखरामा खाना पकाउने ग्यास अभाव हटाउन प्रशासन सक्रिय, तीन बुलेट ग्यास आजभोलि आइपुग्ने

सञ्जीवनीTuesday, 4 August 2026

पोखरा । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले आपूर्ति तथा वितरणलाई सहज बनाउन सक्रिय पहल थालेको छ। कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने प्रयासलाई रोक्न बजार अनुगमनसमेत तीव्र पारिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरामा रहेका ग्यास बिक्रेतालाई आवश्यकभन्दा बढी ग्यास सञ्चित नगर्न तथा उपभोक्तालाई नियमित रूपमा बिक्री–वितरण गर्न सचेत गराइएको छ। उनले पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीसँग समन्वय गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन आग्रह गरिएको जानकारी दिए। प्रशासनका अनुसार बजारमा देखिएको असहज अवस्था हटाउन आवश्यक समन्वय भइरहेको छ भने अनुगमनलाई पनि निरन्तरता दिइएको छ।

“प्रशासनका तर्फबाट समन्वय भइरहेको छ। बजार अनुगमन पनि गरिरहेका छौँ। आजभोलिसम्ममा तीनवटा ग्यास बुलेट पोखरा भित्रिँदैछन्,” सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने, “हाल देखिएको समस्या विस्तारै समाधान हुँदै जानेछ। उपभोक्तालाई अनावश्यक हतार वा त्रासमा नपरी ढुक्क हुन आग्रह गर्दछौँ।” प्रशासनले कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर राख्ने वा बढी मूल्यमा बिक्री गर्ने गतिविधि भेटिएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। प्रशासनको विश्वास छ कि थप ग्यास बुलेट पोखरा आइपुगेपछि बजारमा आपूर्ति सामान्य बन्दै जानेछ र उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास प्राप्त गर्नेछन्।

Related Stories

Built with v0