२५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर ! करदाता प्रोत्साहन योजनामा भाग्य खुलेको उपभोक्ता
business

२५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर ! करदाता प्रोत्साहन योजनामा भाग्य खुलेको उपभोक्ता

सञ्जीवनीFriday, 7 August 2026

केवल २५० रुपैयाँको सामान खरिद गरेर एक उपभोक्ताले सरकारको करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जितेका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार विजेताको घोषणा गरिएको हो। विभागका अनुसार शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता यस अवधिको बम्पर पुरस्कारका विजेता बनेका हुन्। सरकारले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने संस्कृतिको विकास गर्ने, कर प्रणालीलाई थप पारदर्शी बनाउने तथा व्यवसायीलाई सही कारोबार अभिलेखीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो योजना सञ्चालन गर्दै आएको छ।

यो योजनाअनुसार नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी करयोग्य बिल (भ्याट वा प्यान बिल) लिने उपभोक्ता पुरस्कार कार्यक्रममा सहभागी हुन सक्नेछन्। उपभोक्ताले बिलमा उल्लेख भएको विवरण प्रणालीमा दर्ता गरेपछि उपहार योजनामा समावेश हुने व्यवस्था छ। राजस्व विभागले सबै उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गर्दै आएको छ। विभागका अनुसार बिल लिने बानीले कर छली नियन्त्रण, राजस्व संकलन वृद्धि तथा उपभोक्ताको अधिकार संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यस योजनामार्फत सरकारले करदाताप्रति सकारात्मक व्यवहार विकास गर्नुका साथै बजारमा पारदर्शी कारोबारको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको जनाएको छ।

Related Stories

Built with v0