विश्वकपको उत्साह चुलिँदा पनि नेपालको सपना अधुरै
अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको FIFA World Cup 2026 सुरु हुन अब करिब तीन साता मात्रै बाँकी छ । यसपटक ४८ राष्ट्र सहभागी हुने विश्व फुटबलको महाकुम्भप्रति नेपालमा पनि असाधारण उत्साह देखिएको छ । सामाजिक सञ्जालदेखि चिया पसलका गफसम्म अहिले विश्वकपकै चर्चा छ ।तर विश्वकपप्रतिको नेपाली समर्थकको उत्साह जति ठूलो भए पनि प्रतियोगितामा नेपालको उपस्थिति भने अझै सपना नै बनेको छ । चार दशकदेखि विश्वकप छनोट खेल्दै आएको नेपाल हालसम्म दोस्रो चरणभन्दा माथि पुग्न सकेको छैन ।नेपालले पहिलो पटक सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपका लागि छनोट प्रतियोगिता खेलेको थियो । त्यसयता नेपालले दुई संस्करणबाहेक सबै विश्वकप छनोटमा सहभागिता जनाएको छ । सन् १९९४ को विश्वकप छनोटमा नेपाल सहभागी भएन भने सन् २००६ को विश्वकपका लागि नाम दर्ता गराए पनि पछि टोली फिर्ता लिएको थियो । त्यसबेला FIFA ले नेपाललाई १० हजार अमेरिकी डलर जरिबाना गरेको थियो ।विश्वकप छनोटका अधिकांश संस्करणमा नेपाल पहिलो चरणबाटै बाहिरिएको छ । केही अवसरमा दोस्रो चरणसम्म पुगे पनि प्रदर्शन कमजोर रहँदै आएको छ । पछिल्ला वर्षमा नेपाली फुटबलमा केही सुधारका संकेत देखिए पनि विश्व फुटबलमा प्रतिस्पर्धा गर्न आवश्यक पूर्वाधार, दीर्घकालीन योजना र व्यावसायिक व्यवस्थापनको अभाव अझै चुनौती बनेको छ ।विश्वकप आउँदा नेपाली समर्थक अर्जेन्टिना, ब्राजिल, फ्रान्स वा पोर्चुगलको समर्थनमा रंगिने गर्छन् । तर आफ्नै देशलाई विश्वकपमा देख्ने चाहना भने अझै अधुरै छ । नेपाली फुटबल समर्थक अहिले पनि त्यो दिनको प्रतीक्षामा छन्, जुन दिन विश्वकपको मैदानमा नेपालको राष्ट्रिय गान बज्नेछ ।




