पुनम चन्दलाई सात दिनभित्र हाजिर हुन प्रहरीको निर्देशन
sports

पुनम चन्दलाई सात दिनभित्र हाजिर हुन प्रहरीको निर्देशन

सञ्जीवनीTuesday, 26 May 2026

नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्दलाई नेपाल प्रहरीले सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै चन्दलाई स्पष्टिकरणसहित उपस्थित हुन भनेको हो । प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै पुनम चन्दसहित गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई आफ्नो अनुपस्थितिको कारण खुलाउन निर्देशन दिएको जनाएको छ । कार्यालयका अनुसार चन्द २०८२ चैत १७ गतेदेखि गैरहाजिर रहँदै आएकी छन् । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ११५ को दफा (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेकाले सात दिनभित्र सम्पर्कमा आउन भनिएको प्रहरीको सूचनामा उल्लेख छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

पुनम चन्द नेपाली महिला भलिबल टोलीकी महत्वपूर्ण खेलाडीका रूपमा परिचित छन् । नेपाल भलिबल संघले आयोजना गरेको बन्द प्रशिक्षणमा समेत उनी सहभागी भएकी थिइन् । तर, केही समयअघि उनी अष्ट्रेलिया गएको बताइएको छ ।

हाल नेपाली महिला भलिबल टोली काभा महिला भलिबल च्याम्पियनसिपको तयारीमा जुटिरहेको भए पनि पुनम टोलीमा समावेश छैनन् । पुनमको अनुपस्थितिले टोलीको तयारी र प्रदर्शनमा असर पर्न सक्ने खेलकुद वृत्तमा चर्चा हुन थालेको छ ।

Related Stories

Built with v0