विश्वकप फुटबलमा नयाँ नियम : खेल थप निष्पक्ष, समय व्यवस्थापन कडा
पेरिस । आगामी विश्वकप फुटबलमा खेललाई अझ व्यवस्थित, पारदर्शी र अनुशासित बनाउन फिफाले केही नयाँ नियम लागू गर्ने भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ‘हाइड्रेसन ब्रेक’देखि ‘काउन्टडाउन’ प्रणालीसम्मका नयाँ व्यवस्थाले खेलको स्वरूपमै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । फिफाका अनुसार अब प्रत्येक हाफको बीचमा तीन मिनेटको अनिवार्य ‘हाइड्रेसन’ विश्राम हुनेछ । अत्यधिक गर्मी र खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै ल्याइएको यो नियम सबै खेलमा लागू गरिने बताइएको छ । यसअघि केही विशेष प्रतियोगितामा मात्र प्रयोग हुँदै आएको यस्तो व्यवस्था अब विश्वकपकै स्थायी अभ्यास बन्न लागेको हो । त्यस्तै, गोलकिक, थ्रो–इन र सब्स्टिच्युसनका क्रममा खेलाडी वा टोलीले जानाजान समय खेर फाले ‘काउन्टडाउन’ प्रणाली लागू गरिनेछ । निर्धारित समयभित्र खेल सुरु नगरे विपक्षी टोलीलाई फाइदा पुग्ने गरी निर्णय हुन सक्ने जनाइएको छ । यसलाई खेलमा बढ्दो ‘टाइम वेस्टिङ’ रोक्ने प्रभावकारी कदमका रूपमा हेरिएको छ ।
प्रयोगलाई थप प्रभावकारी बनाउने तयारी पनि गरेको छ । विवादास्पद निर्णय कम गर्दै खेललाई निष्पक्ष बनाउने उद्देश्यले प्रविधिको दायरा विस्तार गरिएको जनाइएको छ । यसैबीच, खेलाडीले रेफ्रीसँग आक्रामक बहस गरे, विरोध जनाउँदै मैदान छाडे वा अनुशासनविपरीत व्यवहार गरेमा कडा कारबाही गरिनेछ । आवश्यक परे रातो कार्डसमेत देखाइने नयाँ व्यवस्था ल्याइएको छ । विशेषज्ञहरूका अनुसार यी नयाँ नियमले खेललाई थप रोमाञ्चक, अनुशासित र दर्शकमैत्री बनाउन मद्दत गर्नेछन् । तर कतिपयले भने अत्यधिक प्रविधि र कडाइले फुटबलको प्राकृतिक लय प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।




