फिफा विश्वकप ‘प्लेयर्स टु वाच’ : लामिन यमाल
sports

फिफा विश्वकप ‘प्लेयर्स टु वाच’ : लामिन यमाल

सञ्जीवनीThursday, 21 May 2026

आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन् । आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् । यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै जर्मनीमा आयोजित युरोपियन च्याम्पियनसिप जित्न महत्वपूर्ण योगदान दिए । जहाँ स्पेनले चौथोपटक युरोपको उपाधि उचालेको थियो ।

गत सिजन उनले बार्सिलोनाबाट स्पेनिस सुपर कप, कोपा डेल रे र ला लिगा गरी थप तीन उपाधि जिते । अहिलेको सिजनमा पनि उनले दोस्रो स्पेनिस सुपर कप जितिसकेका छन् । जनवरीमा साउदी अरेबियामा भएको फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै उपाधि जितेको थियो ।

स्पेनको भावी सुपरस्टारका रूपमा हेरिएका यमाल अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित युवा खेलाडीमध्ये एक बनेका छन् । धेरैले उनलाई भविष्यमा विश्व फुटबलको सबैभन्दा ठूलो पुरस्कार जिताउने खेलाडीका रूपमा पनि हेर्ने गरेका छन् । उनीसँग तीन राष्ट्रिय टोलीमध्ये एउटा छनोट गर्ने अवसर थियो । उनले आफ्नो जन्मदेश स्पेन, बुबाको देश मोरक्को वा आमाको जन्मदेश इक्वेटोरियल गिनीमध्ये कुनै एक टोलीबाट खेल्न सक्थे । अन्ततः उनले स्पेनको राष्ट्रिय टोली रोजे । विश्व विजेता अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले भन्छन्, ‘यमालले अहिलेसम्म जे गरिरहेका छन् र जे हासिल गरेका छन् । त्यो धेरै प्रभावशाली छ । उनी पहिले नै स्पेनसँग युरोपेली च्याम्पियन भइसकेका छन् ।’

Related Stories

Built with v0