धनगढीमा लागुऔषधविरुद्ध प्रहरीको कडा अभियान : एकै दिन ११ युवा पक्राउ, बाजुरामा पनि एक जनासहित गाँजा–चरेस बरामद
सुदूरपश्चिम प्रदेशमा लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट एकै दिन ११ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, चरेस तथा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार धनगढीका वडा नम्बर ७, ३ र १३ का विभिन्न स्थानमा गरिएको निगरानी तथा कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ। प्रहरीका अनुसार धनगढी–७ मनेहराबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम ३०३ मिलिग्राम धुलो पदार्थसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनारायण राना, रामअवतार राना, सुवास राना, जस्मन्त राना, अर्का सुवास राना तथा एक १८ वर्षीय किशोर रहेका छन्। उनीहरूबाट बरामद गरिएको पदार्थको प्रयोगशाला परीक्षणपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
त्यसैगरी धनगढी–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट २ ग्राम ६३ मिलिग्राम चरेससहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा बेनी माधव खड्का र एक १८ वर्षीय किशोर रहेका छन्। यस्तै धनगढी–१ को महोत्सव ग्राउन्ड क्षेत्रबाट ४ ग्राम ३४० मिलिग्राम गाँजा र ११० मिलिग्राम चरेससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा आयुष ओली, अस्पात अन्सारी र प्रज्वल थापा रहेका छन्। प्रहरीले पक्राउ परेका सबैमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय धनगढी क्षेत्रमा लागुऔषध प्रयोगकर्ता तथा कारोबारमा संलग्न व्यक्तिहरूको गतिविधि बढ्न थालेपछि निगरानी कडा पारिएको प्रहरीको भनाइ छ। यसैबीच बाजुराको बडिमालिका नगरपालिका–९ अस्पताल लाइन क्षेत्रबाट पनि एक जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। गौमुल गाउँपालिका–४ का २४ वर्षीय पुरन रोकायाको साथबाट ७ ग्राम ४३० मिलिग्राम चरेस र ४० ग्राम १९० मिलिग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिममा पछिल्ला दिनहरूमा लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा खटिएको देखिएको छ। एकै दिन विभिन्न जिल्लाबाट ठूलो संख्यामा पक्राउ परेका घटनाले युवापुस्तामाझ लागुऔषधको पहुँच र प्रयोग चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ। प्रहरीले लागुऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने तथा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।




