नयाँ कप्तान, फेरिएको टोली, अर्को नयाँ प्रतियोगिता
sports

नयाँ कप्तान, फेरिएको टोली, अर्को नयाँ प्रतियोगिता

सञ्जीवनीFriday, 22 May 2026

शुक्रबारदेखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदा नेपालमा फेरि एक पटक अन्तर्राष्ट्रिय महिला भलिबलको रौनक सुरु हुनेछ । नेपाली भलिबलप्रेमी दर्शकहरू अहिले यही भलिबलको अन्तर्राष्ट्रिय मेला हेर्न प्रतिक्षारत छन् भने नेपाली महिला भलिबल खेलाडीहरू फेरि एकपटक आफ्नै दर्शकको अगाडि खेल्दै राम्रो नतिजा ल्याउने प्रयासमा हुनेछ । नेपालमा आयोजना हुने मध्ये काभाकै प्रतियोगिता सबैभन्दा ठूलो प्रतियोगिता हो । त्यसमाथि कजाखस्तान, इरान जस्ता एसिया मात्र नभई विश्व वरियताममै माथि रहेका बलिया टिमहरू समेत सहभागी हुँदा यो प्रतियोगिता अझ हेर्नलायक बनेको छ । नेपालले ठूला प्रतिद्वन्द्वी विरुद्ध नियमित जस्तो खेल्न पाउने पनि यही काभा भलिबल नै हो । त्यसैले पनि नेपाली टोली घरेलु कोर्टमा काभा महिला भलिबल च्याम्पियनसिप खेल्न उत्साहित छ ।

आफ्नै कोर्टमा आफ्नै दर्शक अघि खेल्नुको मज्जा नै फरक हुन्छ । त्यसको असली अर्थ खेलाडीले नै बुझेका छन् ।

त्यसैले त बिहीबार भएको प्रि-म्याच कन्फेरेन्समा नेपालकी कप्तान निरुता ठगुन्नाले पनि घरेलु कोर्टमा घरेलु दर्शकको अघि खेल्दा ऊर्जा प्राप्त हुने बताइन् । उनले भनिन्, ‘हामीलाई घरेलु कोर्ट भन्ने बित्तिकै ९० प्रतिशत पब्लिकको साथ हुन्छ । त्यसमा जति बाँकी रह्यो हामी कमजोरी नगरी खेल्ने भन्ने छ । होम कोर्टमा खेल्दा दर्शकको सधैं सपोर्ट हुन्छ । राम्रो भइरहेको छ ।’ किन ९० प्रतिशत मात्र भन्ने जिज्ञासामा निरुताले भनिन्, ‘दर्शकको सपोर्ट हुँदा हामीले धेरै कराउनुपर्दैन । दर्शकको हुटिङले ऊर्जा हुन्छ । दर्शकको धेरै सपोर्ट हुन्छ र शतप्रतिशत नै सपोर्ट आउँछ ।’

यसले पनि पुष्टि गर्छ कि आफ्नै कोर्टमा दर्शकको साथ हुँदा त्यसले खेलाडीलाई कति धेरै ऊर्जा दिन्छ र खेलमा उत्कृष्ट प्रदर्शन गर्न मोटिभेसन गर्छ भनेर ।

घरेलु टिमलाई दर्शकको समर्थनको फाइदा हुने छ नै विपक्षी टिमलाई नेपालको समर्थनमा खेल्न गाह्रो पनि हुन सक्छ । त्यसैले त आयोजकलाई होम एडभान्टेज हुन्छ भन्ने विषयमा चर्चा हुने गर्छ । निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोली १४ खेलाडी मात्र नभएर समग्र देशको प्रतिनिधित्व गर्दै कोर्टमा उत्रँदा दर्शकहरूको साथ कोर्ट भित्र मात्र नभएर टेलिभिजनमा प्रत्यक्ष हेर्ने दर्शकहरूको पनि हुन्छ ।

Related Stories

Built with v0