हराएको सिमकार्ड प्रयोग गरी २४ लाखभन्दा बढी ठगी, दुई पक्राउ
हराएको सिमकार्ड पुनः सक्रिय गराई मोबाइल बैंकिङ सेवाको दुरुपयोग गरेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रोशन पहाडी र सुभाष ओझा रहेका छन्। प्रहरीका अनुसार आरोपितहरूले पीडितको हराएको सिमकार्ड पुनः सञ्चालनमा ल्याई मोबाइल बैंकिङ प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरेका थिए।त्यसपछि विभिन्न बैंक खाताबाट रकम स्थानान्तरण गर्दै कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले प्राविधिक विश्लेषण तथा निगरानीमार्फत दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि विद्युतीय माध्यमबाट हुने आर्थिक अपराध तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिमकार्ड हराए वा चोरी भएमा तत्काल सम्बन्धित दूरसञ्चार सेवा प्रदायक र बैंकलाई जानकारी गराउन आग्रह गरेको छ। साथै, ओटीपी (OTP), पासवर्ड तथा व्यक्तिगत बैंकिङ विवरण कसैसँग पनि साझेदारी नगर्न सचेत गराएको छ। प्रविधिको दुरुपयोग गरी हुने साइबर तथा बैंकिङ अपराधका घटना बढ्दै गएकाले डिजिटल सुरक्षामा विशेष सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।




