प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रसँग संवाद गर्दै, उत्पादनदेखि निर्यातसम्मका चुनौतीबारे छलफल गर्ने
प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा अग्रणी व्यवसायीसँग आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीसँग हुने छलफलमा नेपाल अर्ग्यानिक सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रिजका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुने कार्यक्रम रहेको छ। छलफलमा नेपालमा अर्ग्यानिक कृषि उत्पादनको वर्तमान अवस्था, उत्पादन तथा प्रशोधनमा देखिएका चुनौती, गुणस्तर मापदण्ड, बजार विस्तार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, निर्यातका सम्भावना तथा निजी क्षेत्रले भोगिरहेका नीतिगत र व्यावहारिक समस्याबारे विस्तृत विमर्श हुने अपेक्षा गरिएको छ। साथै अर्ग्यानिक कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवस्थित र निर्यातमुखी बनाउन आवश्यक सरकारी सहजीकरणका विषय पनि छलफलको मुख्य एजेन्डा रहने बताइएको छ।
पछिल्लो समय प्रधानमन्त्री शाहले उद्योग, व्यवसाय, कृषि तथा उत्पादनमूलक क्षेत्रसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी तथा सरोकारवालासँग नियमित छलफल गर्दै उनीहरूले उठाएका समस्या, सुझाव तथा जायज मागका आधारमा नीतिगत सुधार, प्रशासनिक सहजीकरण र लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्दै आएका छन्। अर्ग्यानिक कृषि तथा चिया उद्योग नेपालको उच्च सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिएको छ। स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि, मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा यसको महत्वपूर्ण योगदान रहने भएकाले सरकार र निजी क्षेत्रबीचको यस्तो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सम्बन्धित व्यवसायीहरूले यस बैठकबाट अर्ग्यानिक उत्पादनको प्रवर्द्धन, निर्यात विस्तार तथा व्यवसायमैत्री नीतिगत निर्णयतर्फ ठोस पहल हुने अपेक्षा गरेका छन्।




