तनहुँका १० स्थानीय तहको बजेट रु ७.७८ अर्ब नाघ्यो, पूर्वाधार र सामाजिक विकासमा उच्च प्राथमिकता
economy

तनहुँका १० स्थानीय तहको बजेट रु ७.७८ अर्ब नाघ्यो, पूर्वाधार र सामाजिक विकासमा उच्च प्राथमिकता

सञ्जीवनीThursday, 25 June 2026

तनहुँ जिल्लाका सबै १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु ७ अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार तथा आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। जिल्लाका चार नगरपालिकाले रु ४ अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ तथा छ गाउँपालिकाले रु ३ अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ बजेट ल्याएका छन्। सबैभन्दा ठूलो बजेट व्यास नगरपालिकाले रु १ अर्ब ५० करोड २० लाख प्रस्तुत गरेको छ। नगरपालिकाले सामाजिक विकासमा सबैभन्दा बढी रु ७२ करोड २९ लाख विनियोजन गरेको छ भने पूर्वाधार विकासका लागि रु २६ करोड २ लाख छुट्याएको छ। कुल बजेटमध्ये ६८.१६ प्रतिशत चालु र ३१.८४ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। यस्तै, शुक्लागण्डकी नगरपालिकाले रु १ अर्ब १३ करोड ५४ लाख, भानु नगरपालिकाले रु ८४ करोड ६६ लाख र भीमाद नगरपालिकाले रु ६३ करोड ५३ लाख बजेट सार्वजनिक गरेका छन्।

गाउँपालिकातर्फ म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजार बजेट ल्याउँदै सामाजिक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। अन्य गाउँपालिकामध्ये बन्दीपुरले रु ६८ करोड ७८ लाख, आँबुखैरेनीले रु ६४ करोड, देवघाटले रु ५५ करोड ५८ लाख, ऋषिङले रु ५३ करोड ६२ लाख र घिरिङले रु ५० करोड बजेट प्रस्तुत गरेका छन्। स्थानीय तहहरूले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी तथा विभिन्न अनुदान कार्यक्रमलाई बजेटको मुख्य स्रोतका रूपमा उल्लेख गरेका छन्।

आगामी वर्षको बजेटले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, रोजगार तथा सुशासनका कार्यक्रममार्फत स्थानीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

Related Stories

Built with v0