थारु समुदायको अधिकार र सहभागिता बढाउन कांग्रेस प्रतिबद्ध : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले थारु समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका निकायमा पहुँच विस्तारका लागि पार्टी प्रतिबद्ध रहेको बताएका छन्। ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता कांग्रेसको मूल प्राथमिकता भएको उल्लेख गरे। राष्ट्र निर्माण, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न थारु समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो। सभापति थापाले थारु समुदायका नागरिकलाई राज्यका विभिन्न निकायमा सहज पहुँच सुनिश्चित गर्न आफूले आवश्यक पहल गर्ने बताए। उनले कांग्रेसका संस्थापक नेता बीपी कोइराला ले थारु समुदायमाथि विश्वास गर्दै नेतृत्व र जिम्मेवारीमा अवसर दिएको स्मरण गर्दै त्यस परम्परालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई पार्टी संगठन विस्तार, नयाँ क्रियाशील सदस्यता वृद्धि तथा संविधान संशोधनसम्बन्धी बहसमा सक्रिय भूमिका निर्वाह गर्न उनले आग्रह गरे।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेल ले थारु समुदायले नेपालको सीमा सुरक्षा र आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको बताए। संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षण गर्दै थारु समुदायलाई राष्ट्रिय मूलधारमा थप सशक्त रूपमा स्थापित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। अर्का महामन्त्री गुरुराज घिमिरे ले थारु समुदाय नेपालको आदिवासी मूलवासी समुदायमध्ये एक महत्वपूर्ण समुदाय भएको उल्लेख गर्दै राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्न एकजुट प्रयास आवश्यक रहेको बताए। उनले विविध जातजाति र समुदायलाई एकताको सूत्रमा बाँध्न कांग्रेसले निरन्तर भूमिका खेल्दै आएको दाबी गरे। यसैबीच सभापति थापाले सरकारले सार्वजनिक गरेको बजेटमा केही सकारात्मक सुधारका कार्यक्रम समेटिए पनि न्यून आय भएका नागरिकको जीवनस्तर उकास्ने विषयमा अपेक्षित संवेदनशीलता नदेखिएको टिप्पणी गरे। आर्थिक सुधारसँगै सामाजिक न्याय र कमजोर वर्गको हितलाई पनि समान प्राथमिकता दिनुपर्ने उनको जोड थियो।

.jpeg)


