नेपाल कसरी बन्छ, जब नेतृत्व नै बाटो बिराउँछ ?
राष्ट्र निर्माणको आधार भनेको केवल सडक, पुल, भवन वा बजेट मात्र नभइ राजनीतिक संस्कार, नैतिक नेतृत्व र जनप्रतिनिधिहरूको जिम्मेवार आचरण हो । तर विडम्बना, आज जनताले विश्वास गरेर संसदमा पठाएका केही प्रतिनिधिहरूकै व्यवहारले लोकतन्त्रको गरिमा कमजोर बनाइरहेको छ।प्रतिनिधि सभा जनताको सर्वोच्च आवाज बोलिने थलो हो । त्यहाँ विचार, नीति र समाधानको प्रतिस्पर्धा हुनुपर्छ । तर पछिल्ला दिनहरूमा संसदमा देखिएका हुलहुज्जत, नाराबाजी, असंसदीय व्यवहार र मर्यादाविपरीत गतिविधिहरूले नागरिकलाई निराश बनाएका छन्। जनताले विकास, सुशासन र समृद्धिको आशा राखेर पठाएका प्रतिनिधिहरूले जब जिम्मेवारीभन्दा प्रदर्शनलाई प्राथमिकता दिन्छन्, तब लोकतन्त्रको आत्मामाथि नै प्रश्न उठ्छ। यस्तै सन्दर्भमा श्रम संस्कृति पार्टिका अध्यक्ष्य हर्क साम्पाङले सभामुखलाई लक्षित गर्दै प्रयोग गरेको “जे गर्छस् गर” जस्तो ठाडो र अमर्यादित अभिव्यक्तिले पनि सार्वजनिक नेतृत्वको स्तरबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ। पद र लोकप्रियता जति ठूलो भए पनि सार्वजनिक व्यक्तित्वको भाषा सभ्य, संयमित र जिम्मेवार हुनुपर्छ। नेतृत्व भनेको भीडलाई उत्तेजित गर्ने होइन, समाजलाई सही दिशा दिने क्षमता हो।
नेपाल आज विकास नहुनुको कारण केवल स्रोतको अभाव नभइ संस्कारको अभाव पनि हो। जब नेतृत्व गर्ने व्यक्तिहरू नै नियम, मर्यादा र जिम्मेवारीप्रति संवेदनशील हुँदैनन्, तब नागरिकमा पनि निराशा र अविश्वास बढ्छ। देश बनाउने जिम्मा केवल सरकारको होइन, तर नेतृत्व गर्ने व्यक्तिहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ।
नेपाल तब बन्छ, जब संसद बहसको थलो बन्छ; जब नेताहरू पदभन्दा कर्तव्यलाई ठूलो ठान्छन्; जब लोकप्रियताभन्दा जिम्मेवारीलाई प्राथमिकता दिइन्छ; र जब जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवक ठान्छन्, मालिक होइन। देशको भविष्य परिवर्तन गर्न संविधान, व्यवस्था वा नाराभन्दा बढी आवश्यक छ—चरित्रवान नेतृत्व। किनकि राष्ट्रको उचाइ त्यसका हिमालले होइन, त्यसलाई नेतृत्व गर्ने मानिसहरूको चेतना, संस्कार र नैतिकताले निर्धारण गर्छ। यदि प्रतिनिधित्व गर्ने व्यक्तिहरू नै गलत बाटोमा हिँडिरहेका छन् भने “नेपाल कसरी बन्छ ?” भन्ने प्रश्न अझै गम्भीर बन्दै जानेछ। तर यदि नेतृत्व सुध्रियो भने, यही नेपाल सम्भावनाको उज्यालो राष्ट्र बन्न धेरै समय लाग्ने छैन।




