केराको मूल्यमा अस्वाभाविक वृद्धि, बजार अनुगमन प्रभावकारी बनाउन कैलाली–कञ्चनपुरका किसानको सरकारसँग माग
धनगढी । कैलाली र कञ्चनपुरका केरा उत्पादकहरूले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेका छन्। केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरले बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत बगानबाट बिक्री हुने मूल्य र बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्यबीच ठूलो अन्तर देखिएको भन्दै तत्काल सरकारी हस्तक्षेप आवश्यक रहेको बताएका हुन्। संघका अनुसार हाल किसानले गुणस्तरअनुसार बगानबाट प्रतिदर्जन केरा रु ६० देखि रु ६५ सम्ममा बिक्री गरिरहेका छन्। तर बजारमा सोही केरा अत्यधिक मूल्यमा बिक्री भइरहेको हुँदा उपभोक्ता अनावश्यक आर्थिक भार वहन गर्न बाध्य भएका छन्। पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा संघीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा लगाएको रोकलाई स्वागत गर्दै उक्त निर्णयले स्वदेशी उत्पादन, किसानको हित तथा राष्ट्रिय कृषि सुरक्षालाई बल पुग्ने विश्वास व्यक्त गरिएको छ।
यद्यपि आयात नियन्त्रणसँगै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अनुचित रूपमा मूल्य बढाउने गतिविधि हुन सक्ने भएकाले त्यसतर्फ सरकार गम्भीर बन्नुपर्ने संघको भनाइ छ। संघले सम्बन्धित सरकारी निकायलाई बजारको नियमित अनुगमन गर्न, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न र किसान तथा उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न आग्रह गरेको छ। केरा उत्पादकहरूको भनाइमा, उत्पादनको वास्तविक मूल्य किसानले नपाउने र उपभोक्ताले अत्यधिक मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न प्रभावकारी नियमन नै अहिलेको प्रमुख आवश्यकता हो।



