इलाममा राजस्व सङ्कलन आधाभन्दा बढी घट्यो, बजेट खर्च पनि कमजोर
इलाम — इलाममा आर्थिक वर्ष २०८२/८३ मा राजस्व सङ्कलन र बजेट कार्यान्वयन दुवै कमजोर देखिएको छ। सङ्घीय तथा कोशी प्रदेश सरकारका कार्यालयमार्फत रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो आवको तुलनामा रु ५० करोड ६७ लाख ६९ हजार अर्थात् ४८ दशमलव ९४ प्रतिशतले कम हो। राजस्व गिरावटको मुख्य हिस्सा सङ्घीय कार्यालयतर्फ देखिएको छ। गत आवमा सङ्घीय कार्यालयबाट रु ३४ करोड १७ लाख मात्र राजस्व उठेकोमा अघिल्लो आवमा रु ८४ करोड ८२ लाख सङ्कलन भएको थियो। प्रदेशतर्फ भने राजस्व करिब स्थिर रहँदै रु १८ करोड ६९ लाख सङ्कलन भएको छ। राजस्वसँगै बजेट खर्चको अवस्था पनि चिन्ताजनक छ। जिल्लाका सङ्घीय तथा प्रदेश कार्यालयका लागि विनियोजित रु १२ अर्ब १२ करोड ४१ लाख मध्ये रु २ अर्ब १२ करोड १० लाख ९६ हजार, अर्थात् १७ दशमलव ५ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको छ।
विशेषगरी विकास निर्माणसँग जोडिएको पुँजीगत बजेट खर्च कमजोर देखिएको छ। सङ्घीय सरकारको पुँजीगत बजेट ५४ दशमलव ९७ प्रतिशत मात्र खर्च हुँदा कोशी प्रदेशको पुँजीगत बजेट खर्च ६८ प्रतिशत मा सीमित भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका सूचना अधिकारी दीपकराज कार्कीका अनुसार स्थानीय तहले खर्च गर्न नसकेका सशर्त, समपूरक तथा विशेष अनुदानसमेत समयमै फिर्ता गरिएको छ। राजस्व सङ्कलनमा करिब आधाको गिरावट र विकास बजेटको ठूलो हिस्सा खर्च हुन नसक्नुले इलाममा आर्थिक गतिविधि तथा सरकारी बजेट कार्यान्वयन दुवैमा चुनौती देखिएको संकेत गरेको छ। अब राजस्वको दायरा विस्तारसँगै पुँजीगत बजेट समयमै कार्यान्वयन गर्ने क्षमता बढाउनु जिल्लाका लागि मुख्य चुनौती बनेको छ।




