कांग्रेस पाँचथरका सह–सचिव राईद्वारा पार्टी परित्याग, श्रमशक्ति पार्टीमा प्रवेश गर्ने तयारी
पाँचथर, २१ जेठ — नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै कांग्रेससँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको बताएका हुन्। राईले कांग्रेसको साधारण सदस्यतासमेत त्यागेको जानकारी दिँदै अब श्रमशक्ति पार्टीमार्फत आफ्नो राजनीतिक तथा सामाजिक अभियानलाई निरन्तरता दिने बताएका छन्। उनी आगामी जेठ २३ गते पाँचथरको जेभालेमा आयोजित कार्यक्रममार्फत श्रमशक्ति पार्टीमा औपचारिक रूपमा प्रवेश गर्ने तयारीमा छन्। उक्त कार्यक्रममा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वयं सहभागी भई राईलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ।
श्रमशक्ति पार्टीले राईको प्रवेशलाई विशेष महत्वका साथ लिँदै कार्यक्रमलाई वृहत् रूपमा सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ। सामाजिक क्षेत्रमा सक्रिय छवि बनाएका राईको बहिर्गमनले कांग्रेस पाँचथरमा केही प्रभाव पार्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ। यता, श्रमशक्ति पार्टीका नेता तथा कार्यकर्ताहरू भने उनको आगमनलाई लिएर उत्साहित देखिएका छन्। राई नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट जिल्ला सह–सचिवमा निर्वाचित भएका थिए। पछिल्लो समय उनी कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा खुलेर आवाज उठाउने नेतामध्ये एकका रूपमा परिचित थिए।




