कान्स प्रिमियरअघि ‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक
कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत विश्व प्रिमियर हुन लागेको नेपाली फिल्म ‘तिनीहरू’ (एलिफेन्ट्स इन द फग) ले अन्तर्राष्ट्रिय प्रदर्शनका लागि पहिलो वितरण सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय बिक्री अधिकार ‘बेस्ट फ्रेन्ड फरेभर’ले लिएको हो । साथै, फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको छ ।फ्रान्समा यो फिल्म ‘अरिजोना डिस्ट्रीब्युसन’ र ‘ले भाल्सेउर डिस्ट्रीब्युसन’ले संयुक्त रूपमा प्रदर्शन गर्नेछन् । जर्मनी र अस्ट्रियाको अधिकार ‘मिसिङ फिल्म्स’ ले खरिद गरेको छ भने ब्राजिलमा ‘इमोभिजन’ले प्रदर्शन गर्नेछ । नेपालमा भने ‘द टी फोक्स फिल्म्स’ले वितरण सम्हाल्ने भएको छ ।‘एलिफेन्ट्स इन द फग’ २० मेमा कान्समा प्रिमियर र २१ मेमा रेडकार्पेटमा सहभागी हुनेछ । यो फिल्म कान्समा छनोट पहिलो नेपाली कथानक फिल्म हो, जसलाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन् ।शाहको छोटो फिल्म ‘लोरी’ले सन् २०२२ को कान्स फिल्म महोत्सवमा विशेष सम्मान प्राप्त गरेको थियो । उनले यसअघि मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को पटकथामा पनि सहकार्य गरेका थिए ।

