कारागारमा बनेका मुढा र गलैँचाको बजार सुस्तायो, बन्दीको आम्दानी आधामै सीमित
पोखरा । कुनै समय कारागार कार्यालयमा बन्दीहरूले उत्पादन गरेका मुढा, गलैँचा, झोला लगायतका हस्तनिर्मित सामग्री निकै रुचाइन्थ्यो। सरकारी कार्यालयदेखि सर्वसाधारणसम्मले प्राथमिकताका साथ खरिद गर्ने यी सामग्रीको माग पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा घट्दै गएको छ। यसको प्रत्यक्ष असर कारागारभित्र सीपमूलक काममा संलग्न बन्दीहरूको आम्दानी र मनोबलमा परेको छ। कारागारमा रहेका बन्दीहरूका अनुसार उत्पादनको गुणस्तरमा कमी नआए पनि बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा उनीहरूले बनाएका सामग्रीको बिक्री घटेको हो। यसले बन्दी जीवन बिताइरहेकाहरूलाई आफ्नो व्यक्तिगत खर्च धान्न र परिवारलाई आर्थिक सहयोग गर्न कठिन बनाएको छ। विगत १३ वर्षदेखि कारागारमा रहेका विकास प्रर्जा (परिवर्तित नाम) ले मुढाको माग घटेपछि उत्पादनसमेत करिब ५० प्रतिशतले घटेको बताए। उनका अनुसार पहिले नियमित रूपमा अर्डर आउने भए पनि अहिले मुढा बिक्री हुनै मुस्किल हुन थालेको छ। "पहिलेको तुलनामा अहिले मुढाको माग निकै घटेको छ। मानसिक र शारीरिक रूपमा व्यस्त रहन मुढा बुन्ने काम गर्दै आएको हुँ, तर उत्पादन भएर पनि बिक्री नहुँदा निराशा बढेको छ," उनले भने।
उनका अनुसार पहिले सीमित कारागारमा मात्र सीपमूलक तालिम सञ्चालन हुने र उत्पादन पनि सीमित हुने भएकाले बजारमा माग राम्रो थियो। अहिले भने धेरै कारागारमा यस्ता उत्पादन हुन थालेपछि प्रतिस्पर्धा बढेको छ, जसका कारण बिक्रीमा प्रत्यक्ष असर परेको छ। बन्दीहरू अहिले पनि आगामी चाडपर्वको समयमा बजारमा केही सुधार आउने अपेक्षामा छन्। "दसैँ–तिहारजस्ता पर्वमा केही माग बढ्ला भन्ने आशा छ," विकासले भने। कारागारभित्र सञ्चालन हुने यस्ता सीपमूलक कार्यक्रमले बन्दीहरूको समयलाई सिर्जनात्मक बनाउन, आत्मनिर्भर बन्न र पुनःस्थापनाको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। तर उत्पादनले पर्याप्त बजार नपाउँदा उनीहरूको आयआर्जनको अवसर संकुचित हुँदै गएको देखिन्छ। विशेषज्ञहरूका अनुसार कारागारमा उत्पादित सामग्रीको प्रवर्द्धन, सरकारी निकायमार्फत प्राथमिकताका साथ खरिद र प्रभावकारी बजार व्यवस्थापन गर्न सके बन्दीहरूको जीविकोपार्जनसँगै उनीहरूको पुनःस्थापनामा समेत सकारात्मक योगदान पुग्नेछ।



