ट्रम्प–किम भेटवार्ताको चर्चा, उत्तर कोरियाको कडा सन्देश : ‘सम्बन्ध व्यक्तिगत हुन सक्छ, सुरक्षा नीति होइन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई यसै वर्षको अन्त्यतिर भेट्न चाहेको चर्चासँगै अमेरिका–उत्तर कोरिया सम्बन्ध फेरि अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। विगतमा दुई नेताबीच प्रत्यक्ष भेटवार्ता भइसकेकाले सम्भावित नयाँ भेटलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। तर भेटवार्ताको चर्चा चलिरहेका बेला उत्तर कोरियाले आफ्नो राष्ट्रिय सुरक्षाका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएको छ। प्योङयाङले ट्रम्प र किमबीचको सम्बन्ध व्यक्तिगत हुन सक्ने भए पनि त्यसलाई राष्ट्रिय सुरक्षा र रणनीतिक नीतिसँग जोड्न नहुने बताएको छ। यसैबीच, किम जोङ उनकी बहिनी तथा उत्तर कोरियाली नेतृत्वकी प्रभावशाली नेतृ किम यो जोङले दक्षिण कोरिया र अमेरिकाबीच हुने संयुक्त सैन्य अभ्यासमा कटौती गर्ने विषयलाई अस्वीकार गरेकी छिन्।
उनले अमेरिकाको नीति अझै पनि उत्तर कोरियाप्रति शत्रुतापूर्ण रहेको आरोप लगाउँदै सैन्य गतिविधिप्रतिको आफ्नो कडा धारणा दोहोर्याएकी छन्। उत्तर कोरियाले लामो समयदेखि अमेरिकी–दक्षिण कोरियाली सैन्य अभ्यासलाई आफ्नो सुरक्षाका लागि खतरा भन्दै आएको छ। त्यसैले ट्रम्प र किमबीच भेट भएमा आणविक कार्यक्रम, सैन्य अभ्यास, प्रतिबन्ध तथा सुरक्षा ग्यारेन्टीजस्ता विषय प्रमुख एजेन्डा बन्न सक्ने देखिन्छ। ट्रम्प–किमबीच पुनः संवाद सुरु भएमा कोरियाली प्रायद्वीपमा तनाव घटाउने नयाँ वातावरण बन्न सक्छ। तर यसपटक पनि व्यक्तिगत सम्बन्धले मात्र वार्तालाई सफल बनाउन नसक्ने र सुरक्षा तथा आणविक मुद्दामा ठोस सहमति आवश्यक पर्ने कूटनीतिक विश्लेषणको मुख्य विषय बनेको छ।




