वीरगञ्जमा ठूलो राहत: नारायणी अस्पतालमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालन
health

वीरगञ्जमा ठूलो राहत: नारायणी अस्पतालमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालन

सञ्जीवनीMonday, 22 June 2026

मधेस प्रदेशका हिमोफिलिया तथा रक्तश्रावसम्बन्धी समस्याबाट पीडित बिरामीका लागि राहतको खबर आएको छ। वीरगञ्जस्थित नारायणी अस्पताल मा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र (एचटिसी)’ सञ्चालनमा ल्याइएको छ। हिमोफिलिया सोसाइटी नेपाल र नारायणी अस्पतालको सहकार्यमा आइतबारदेखि सञ्चालनमा आएको उक्त केन्द्रले अब स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने भएको छ। सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेल का अनुसार केन्द्र सञ्चालनसँगै हाल अस्पतालमा उपचाररत करिब ४० जना हिमोफिलियाका बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। उपचारका लागि आवश्यक औषधिसमेत सोसाइटीले अस्पताललाई हस्तान्तरण गरेको उनले जानकारी दिए। केन्द्र स्थापना पूर्व स्वास्थ्यकर्मीहरूलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने ‘फ्याक्टर’ को प्रयोगसम्बन्धी व्यवहारिक तालिमसमेत प्रदान गरिएको छ। यसले बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा दिन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भएसँगै मधेस प्रदेश अन्तर्गतका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका बिरामीले आफ्नै प्रदेशभित्र सहज रूपमा उपचार सेवा पाउने भएका छन्।

अध्यक्ष ढुङ्गेलका अनुसार यसअघि सामान्य उपचारका लागि समेत बिरामीहरूलाई काठमाडौँ धाउनुपर्ने बाध्यता थियो। जसका कारण बिरामी र उनीहरूका परिवारले आर्थिक तथा मानसिक रूपमा ठूलो कठिनाइ भोग्नुपरेको थियो। अब भने प्रदेशमै उपचार सेवा उपलब्ध भएपछि समय, खर्च र झन्झट तीनै कुरामा कमी आउने विश्वास गरिएको छ। स्वास्थ्य सेवा विस्तारको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यो केन्द्रले मधेस प्रदेशमा हिमोफिलिया उपचारलाई थप पहुँचयोग्य, प्रभावकारी र बिरामीमैत्री बनाउने अपेक्षा गरिएको छ।

Related Stories

Built with v0