ऐतिहासिक उपलब्धि : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन, नेपालले पायो पहिलो व्यवस्थित सडक सुरुङ
नेपालका लागि आधुनिक सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। मुलुककै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री तथा नेपालका लागि जापानी राजदूतको संयुक्त उपस्थितिमा गरिएको हो। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुङ्गामा निर्माण गरिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी प्रवेश तथा बाहिरिने सवारी साधनको यात्रा थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। विशेषगरी पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउने-जाने यात्रु तथा मालवाहक सवारीसाधनले नागढुङ्गाको लामो ट्राफिक जाम र उकालो सडकको समस्याबाट राहत पाउने विश्वास गरिएको छ।सरकारका अनुसार सुरुङमार्ग सञ्चालनमा आएसँगै यात्रा समय उल्लेखनीय रूपमा घट्नुका साथै इन्धन बचत, सवारी सञ्चालन खर्चमा कमी र सडक दुर्घटना न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पर्नेछ। यसले काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख व्यापारिक तथा यातायात मार्गलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वाधार विकासमन्त्रीले यो परियोजना नेपालको आधुनिक पूर्वाधार विकासतर्फको नयाँ अध्याय भएको उल्लेख गर्दै आगामी दिनमा अन्य सम्भावित स्थानमा पनि यस्ता सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताए। नेपालका लागि जापानी राजदूतले नेपाल–जापान विकास साझेदारीको सफल उदाहरणका रूपमा यस परियोजनालाई उल्लेख गर्दै आधुनिक र सुरक्षित यातायात पूर्वाधार निर्माणमा जापानले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको सडक पूर्वाधार क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। यसको सञ्चालनसँगै राजधानीको यातायात व्यवस्थापनमा सुधार आउनुका साथै आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।




