सुनचाँदी व्यवसाय अब डिजिटल युगमा : महासंघले सार्वजनिक गर्यो आधिकारिक वेबसाइट र मोबाइल एप
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एक विशेष कार्यक्रमबीच वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गर्दै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत व्यवसायलाई आधुनिक बनाउने महासंघको पहल समयानुकूल, दूरदर्शी तथा अनुकरणीय रहेको बताए। उनले डिजिटल प्रविधिले व्यवसायिक सेवा प्रवाहलाई सहज बनाउनुका साथै पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। महासंघका अनुसार नयाँ वेबसाइट तथा मोबाइल एपले देशभरका सदस्य व्यवसायीलाई आवश्यक सूचना तथा सेवामा सहज पहुँच उपलब्ध गराउनेछ।
एपमार्फत व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, सम्बन्धित ऐन, नियम तथा निर्देशिका, विभिन्न कार्यक्रमका विवरण, संस्थागत गतिविधि तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित आवश्यक जानकारी एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्। महासंघले डिजिटल प्लेटफर्मको सुरुवातसँगै व्यवसायीहरूबीच सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहलाई छरितो बनाउने तथा आधुनिक प्रविधिको उपयोगमार्फत सुनचाँदी व्यवसायलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको जनाएको छ। वेबसाइट र मोबाइल एपको सार्वजनिकसँगै महासंघले डिजिटल रूपान्तरणतर्फ महत्वपूर्ण कदम चालेको छ। यस पहलले सुनचाँदी तथा आभूषण व्यवसायलाई समयसापेक्ष, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै व्यवसायी तथा सेवाग्राही दुवैलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।




