वर्षाका कारण धुलिखेल–खावा सडक राति बन्द नहुने, निर्माण कार्यको तालिका फेरियो
काभ्रे। लगातारको वर्षाका कारण निर्माण कार्य प्रभावित भएपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द नगर्ने निर्णय गरिएको छ। सडक स्तरोन्नति परियोजनाअन्तर्गत निर्माण कार्यलाई तीव्रता दिन सडक डिभिजन कार्यालयले आजदेखि लगातार १५ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने योजना बनाएको थियो। तर प्रतिकूल मौसमका कारण उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो। सडक डिभिजन कार्यालयका अनुसार पछिल्ला केही दिनदेखि परेको वर्षाले कालोपत्रेअघि गरिने ‘सिटिबी (Crushed Base Course)’ र ‘डिबीएम (Dense Bituminous Macadam)’ का लागि तयार गरिएको सब–बेस तह विभिन्न स्थानमा बगाएको तथा क्षति पुर्याएको छ। यसले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न कठिनाइ उत्पन्न गरेको छ। कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजै कार्यालयसँग छलफल गरी पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गर्नुपर्ने जानकारी गराएको छ। निर्माणको अवस्थालाई मध्यनजर गर्दै रातिको समयमा सडक बन्द गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको उनले बताए।
यस निर्णयसँगै धुलिखेल–खावा सडक खण्डमा रातिको समयमा पनि सवारी साधन नियमित रूपमा सञ्चालन हुनेछन्। यद्यपि सडक स्तरोन्नतिको काम भने मौसम अनुकूल भएपछि संशोधित कार्यतालिका अनुसार अघि बढाइने जनाइएको छ। निर्माण कार्य जारी रहेकाले सडकका केही स्थानमा उपकरण सञ्चालन, लेन व्यवस्थापन तथा अस्थायी अवरोध हुन सक्ने भएकाले चालकलाई सावधानीपूर्वक यात्रा गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि यस खण्डमा यात्रा समय घट्नुका साथै सवारी सञ्चालन थप सुरक्षित, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।




