वैदेशिक रोजगारीका ठगी पीडितलाई ठूलो राहत : अब अनलाइनबाटै उजुरी, काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिक तथा उनीहरूका परिवारले अब न्यायको खोजीमा काठमाडौं धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। सरकारले वैदेशिक रोजगारीसम्बन्धी उजुरीलाई सहज, छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले 'उजुरी डोफे गभर्मेण्ट नेपाल' नामक अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव ले उक्त पोर्टलको औपचारिक शुभारम्भ गर्दै प्रविधिमैत्री सेवा विस्तारमार्फत श्रमिकको पहुँचलाई सहज बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए। उनले अब देशको जुनसुकै स्थानबाट पनि वैदेशिक रोजगारीका क्रममा ठगी, सम्झौता उल्लंघन, तलब नपाउने, अलपत्र पर्ने वा अन्य समस्या भोगेका श्रमिकले अनलाइनमार्फत सिधै उजुरी दर्ता गर्न सक्ने बताए। मन्त्री यादवका अनुसार यसअघि उजुरी दर्ता गर्न काठमाडौं आउनुपर्ने, विभिन्न सरकारी कार्यालयमा धाउनुपर्ने तथा लामो प्रक्रियाबाट गुज्रिनुपर्ने बाध्यता थियो। नयाँ प्रणाली लागू भएसँगै ती झन्झट हट्ने अपेक्षा गरिएको छ।
यो पोर्टलमार्फत उजुरी दर्ता गर्नुका साथै आवश्यक कागजात अपलोड गर्ने, उजुरीको अवस्थाबारे जानकारी लिने तथा सम्बन्धित निकायबाट भइरहेको कारबाहीको प्रगति समेत अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ। यसले सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने विश्वास सरकारको छ। नेपालबाट प्रत्येक वर्ष ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्। तर म्यानपावर कम्पनी, एजेन्ट वा अन्य माध्यमबाट हुने ठगी, झुटा आश्वासन, श्रम सम्झौताविपरीत काम, तलब नपाउनेलगायत समस्याका कारण धेरै श्रमिक पीडित हुने गरेका छन्। यस्ता समस्याको समाधानका लागि डिजिटल प्रविधिको प्रयोग गर्दै सरकारले यो नयाँ प्रणाली सञ्चालनमा ल्याएको हो। सरकारले सबै वैदेशिक रोजगारीमा जाने श्रमिक तथा उनीहरूका परिवारलाई कुनै पनि समस्या परेमा सम्बन्धित प्रमाणसहित अनलाइनमार्फत उजुरी दर्ता गर्न आग्रह गरेको छ। नयाँ प्रणालीले श्रमिकको न्यायमा पहुँच विस्तार गर्नुका साथै वैदेशिक रोजगारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




